काठमाडौँ, १० भदौः रासस मिडिया सङ्ग्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढ्दो छ । मिडिया सङ्ग्रहालय सञ्चालन भएको दिनदेखि विज्ञ, सरोकारवाला अवलोकनका लागि आउन थालेका छन् । राससले विगतलाई जगेर्ना गर्ने सन्दर्भमा कार्यालयको एउटा कोठामा ६३ वर्षको इतिहासलाई सङ्ग्रह गरी रासस मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको हो । सङ्ग्रहालयको गत साउन ३२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । मिडिया सङ्ग्रहालयको अवलोकनकर्ता अधिकांशले राससले अतीत जगेर्ना गर्दै नेपाली पत्रकारिताको इतिहास अध्ययन अनुसन्धान गर्ने नयाँ आयाम थपिएको प्रतिक्रिया दिएका छन् । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले रासस मिडिया सङ्ग्रहालय आफैमा ऐतिहासिक रहेको बताउनुभयो । उहाँले पत्रकारिताका विद्यार्थीका लागि अध्ययन र अनुसन्धान गर्न संग्रहालय उपयोगी हुने प्रतिक्रिया दिनुभयो । “राससले सञ्चालनमा ल्याएको मिडिया सङ्ग्रहालय सञ्चारकर्मी भएको नाताले पत्रकारिताका विद्यार्थीकालाई अति उपयोगी छ”, सङ्ग्रहालयको अवलोकनपछि उहाँले भन्नुभयो, “राससले जुन प्रयास गरेको छ, यो अत्यन्तै सराहनीय छ । यसका लागि राससको नेतृत्व र व्यवस्थापनलाई आभार व्यक्त गर्दछु ।” यो सङ्ग्रहालय नेपालको पहिलो मिडिया सङ्ग्रहालयका रुपमा रहेको राससले जनाएको छ । आजको ‘डिजिटल’ युगमा आफूलाई समयानुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले हरसम्भाव प्रयास गरिरहेको छ । ‘कन्टेन्ट’ सुधार, समाचारमा गुणस्तर अभिवृद्धिका साथै सेवा विविधीकरणमा पनि राससले उल्लेखनीय काम गरिरहेको छ । विसं २०१८ देखि मिडियासँग जोडिएका समाचारसँग सम्बन्धित उपकरणको सङ्कलन गरी सङ्ग्रहालयमा सङ्ग्रहित गरेको छ । यसले पत्रकारिताका अध्येता, सञ्चारकर्मीका लागि पत्रकारिताको विगतको अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष लम्सालको भनाइ छ । “राससले आफ्नो इतिहास मात्रै हैन, पत्रकारिता क्षेत्र र सञ्चारकर्मको कसरी विकास भएको थियो भनी एकै थलोमा सामग्री सङ्ग्रहित गरेको छ, यो उत्कृष्ट छ, पत्रकारिताका विद्यार्थीले एकपटक आएर अवलोकन गर्नैपर्ने हुन्छ”, अध्यक्ष लम्सालले भन्नुभयो । काभ्रेका पत्रकार कपिल कोइरालाले सामाजिक सञ्जालमार्फत जानकारी पाएर कौतुहलता जागेकाले रासस मिडिया सङ्ग्रहालय अवलोकन गर्न आइपुगेको बताउनुभयो । उहाँले पत्रकारिता गर्ने क्रममा विगतमा प्रयोग भएका सामग्री नवीन र रोचक लागेको प्रतिक्रिया दिनुभयो । “रासस मिडिया सङ्ग्रहालयको अवलोकन गरेँ, मैले पत्रकारिता सुरु गर्नुभन्दा अगाडि प्रयोग भएका सामग्री प्रदर्शनीदेखि राससको पहिलो समाचारलगायत धेरै नौला कुराहरुको साक्षी बन्न पाइयो”, उहाँले भन्नुभयो, “म पत्रकारिताको विद्यार्थी भएको नाताले अरूलाई राससको इतिहासबारे थप विषयवस्तु प्रस्तुत गर्न सहज हुनेछ, आगामी दिनमा यसलाई विस्तार गर्दै लैजानुपर्छ ।” राससको समाचार बुलेटिन समयक्रमअनुरुप कसरी परिष्कृत र परिमार्जित हुँदै आए, समाचार लेखनशैलीको फरक आदि विषयलाई पनि समेटेको खण्डमा थप प्रभावकारी बन्ने उहाँको सुझाव छ । दैनिकी डटकमका सम्पादक माधवप्रसाद तिवारीले सीमित स्रोत साधनबीच राससले सञ्चारकर्मका विगतका सामग्रीलाई सङ्कलन गरेर सराहनिय कार्य गरेकाले रासस व्यवस्थापनलाई धन्यवाद दिनुभयो । “सीमित बजेटमा पनि राससले राम्रो कामको सुरुआत गरेको छ, यसलाई आगामी दिनमा थप विस्तार गर्दै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “मिडियाका विद्यार्थी र पत्रकारितामा सक्रियहरुका लागि सङ्ग्रहालयका सामग्री सान्दर्भिक छन्, राससको इतिहासबारे अध्ययन गरेकालाई उपकरण र सामग्रीको साक्षात्कार गर्न पाउँदा थप सान्दर्भिकता बढेको छ ।” कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मिडिया सङ्ग्रहालयबाट विगतका प्रविधि बुझ्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । सञ्चारकर्मी तथा नाट्यकर्मी विजय विस्फोटले नेपाली पत्रकारिताको इतिहास अध्ययन गर्न र बुझ्न चाहनेका लागि सङ्ग्रहालय उपयोगी हुने बताउनुभयो । राससका पूर्वप्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराईले रासस र मिडियाको इतिहासलाई जीवन्त तुल्याउन सङ्ग्रहालय सान्दर्भिक हुने प्रतिक्रिया दिनुभयो । राससले स्थापनाको ६३ वर्षे आरोह–अवरोह पारगर्दै समयसापेक्ष सेवालाई छरितो र प्रविधियुक्त बनाउने जमर्को गरिरहेको छ । विसं २०१८ मा काठमाडौँको नयाँसडकको एउटा कोठाबाट सुरुआत भएको रासस अहिले सुविधायुक्त भवनबाट सञ्चालन भइरहेको छ । एउटै कोठामा राससको इतिहास मात्रै नभई पत्रकारिता क्षेत्रमा देखिएको परिवर्तन र विकासक्रम देख्न सकिने भएकाले पत्रकारिता क्षेत्रका प्राध्यापक, सरोकार भएका व्यक्ति एवं जानकारहरु ‘पत्रकारिताका बारेमा जानकारी राख्नेका लागि सङ्ग्रहालय कोसेढुङ्गा’ भएको बताउनुहुन्छ । राससले आफ्नो सेवालाई क्रमशः विविधीकरण गरिरहेको छ । नेपाली समाचारबाट सुरु भएको राससको सेवा अहिले अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, फिचर÷आलेख÷विचार, फोटो, भिडियो, अडियो सेवा हुँदै विसं २०८० माघदेखि अवधि भाषामार्फत मातृभाषाको समाचार सेवा सुरुआत गरेको छ । राससको सङ्ग्रहालयमा विभिन्न ४६ प्रकारका सामग्री राखिएका छन् । त्यसमा रेडियो, टेलिभिजन, टेलिप्रिन्ट, राससका प्रकाशन सामग्री, पुराना माइकलगायत छन् । रासस स्थापनाको ६३ वर्ष पुगेका अवसरमा प्रयोग गरिएका प्रविधि, उपकरण, सामग्री, समाचारको इतिहास र प्रकाशन सङ्ग्रहालयमा उपलब्ध छ । यी सामग्रीले राससको इतिहास र विकासक्रमलाई बुझ्न सहज हुने विश्वास लिइएको छ । —