नेपालको स्याङ्गजा जिल्ला अन्तरगत अर्जुन चौपारी गा.पा. वडा नं १ रैता भन्ने गाउँमा बाबा टिकाराम अर्याल र माता दासी कुमारी अर्यालको कोखबाट वि.सं. २०१० साल माघ १५ गते मेरो जन्म भएको हो ।
करिब १ घण्टाको दुरीमा रहेको महेन्द्र मा.वि. मा प्राथमिक शिक्षा हासिल गरि २०२३ साल पौषदेखि करिब १ः३० घण्टाको दुरीमा रहेको मातृभूमि मा.वि. कक्षा ६ देखि १० सम्म अध्ययन गरि २०२८ सालको एस.एल.सी ब्याचबाट एस.एल.सी. पास गरियो । उक्त विद्यालय एक पाखे थियो र जस्ताले छाएको थियो । चैत्रदेखि असारसम्म गर्मीका कारणले विद्यालय विहानमा सन्चालन हुन्थ्यो । रोचक कुरा त के भने त्यतिखेर न समय बताउने घडी थियो न त टर्च लाइट नै । हमी कहिले काहिँ त राती ३ बजे उठेर राँको बालेर विद्यालय जाने गथ्यौं ।
गाउँमा एस.एल.सी पास गरेपछि जागिर खानुपर्छ भन्ने मानयता थियो । अग्रजगहरुले पनि एस.एल.सी. पास गरेपछि पढाउन सुरु गर्नु भएको थियो । त्यसकारण आफूलाई पनि जागिर खनु पर्ने अवस्था आयो । यसरी २०२९ साल पौषदेखि जन नि.मा.वि. रापकोटमा मासिक १४० रुपैया तलबमा पढाउने काम सुरु गरियो ।
२०३० साल श्रावणबाट पूर्व व्यवसायिक शिक्षाको तालिम पाल्पाबाट प्राप्त गरि २०३० पौषबाट दरौं निमावि दरौं मा अध्यापन गराउन सुरु गरियो ।
त्यसबेला कर्मचारीको तुलनामा शिक्षकको तलवमान कम थियो । संचयकोष लगायत कुनै सुविधाहरु शिक्षकलाई थिएन । शिक्षक आन्दोलनको कारणले २०३६ सालबाट मात्र संचयकोषको व्यवस्था भएको थियो । देशमा प्रजातन्त्रको पुर्नस्थापना भएपछि पटक पटकको शिक्षक आन्दोलनको फलस्वरुप शिक्षक र कर्मचारीको तलबमान समान गरिएको थियो ।
विभिन्न विद्यालयमा अध्यपन गराउँदै २०५२ साल चैत्रमा पञ्चकन्या मा.वि.को नि.मा.वि. दरबन्दीमा सरुवा भई २०७० साल कार्तिक मसान्तसम्म सेवा गरी २०७० साल मंसिर १ गतेबाट नि.मा.वि. द्वितीय श्रेणीबाट अवकास लिएको । २०७२ साल माघबाट टोखा नगरपालिका वडा नं ४, धापासीमा बस्दै आएको छु ।
वि.सं. २०३१ बैशाखमा अ.चौ–५ काहुरे निवासी कृष्णदत्त पौडेल र धनकुमारी पौडलकी छोरी पवित्रा अर्यालसँग बैवाहिक सम्बन्ध कायम भएको । सन्तानको रुपमा दुई छोरा र एक छोरी ठूलो छोरा निजामति सेवामा कार्यरत, छोरीको बुटवलमा व्यवसाय र कान्छो छोराको परिवार बेलायत बस्दै आएको छ ।
पछिल्लो समयमा विद्यार्थीहरुमा अनुसासन खस्किदै गएको, परिश्रम गर्ने बानी हट्दै गएको, लागुपदार्थ सेवन गर्ने बानी बढ्दै गएको, ८/९ कक्षामा पढ्ने विद्यार्थी वैवाहिक सम्बन्धमा गासिएको र पछि पछुताएको घटनाहरु सुन्न पाइन्छ । यस्ता व्यवहारको साथै हाल मोबाइलको प्रयोगले पनि पढाईमा ह्रास आएको देखिन्छ ।
विद्यालयमा अनिवार्य नैतिक शिक्षा लागु गर्ने र सम्भव भएसम्म योग र ध्यानको अभ्यास गराउन सके सुधार हुन सक्छ कि ?
माटोप्रति प्रेमको भावना जगाउने सिपमूलक शिक्षा प्रदान गर्न सके रोजगारीको लागि विदेश जानेक्रम कम हुनसक्छ की । माता पिता र आफूभन्दा ठूलालाई आदर सम्मान गर्ने बानीको विकास गर्न र भोली हरेक मानिसको बुढा–बुढी हुने अवस्था आउने र आफ्ना मातापिताको वास्ता नगर्ने तिम्रो सन्तानले पनि त्यस्तै सिक्ने हुनाले आफूलाई पनि त्यही व्यवहार दोहोरिने कुराको बोध गराउन सके केही सुधारको आसा गर्न सकिन्छ जस्तो लाग्छ ।
प्रत्येक विद्यालयमा संगीत शिक्षा र आध्यात्म शिक्षाको ज्ञान गराउन सकेमा माता पितालाई हेर्ने दृष्टिकोण र स्वयमं व्यक्तिको व्यक्तित्व विकासमा सुधार हुन सक्छ ।
बद्रीकान्त अर्याल
फोन नं ९८४६१८६०४४